खगेन्द्र गिरी ‘कोपिला’ – (गजल)
(Source: मधुपर्क जेठ, २०६८)
सम्झनाका छायाँहरू सम्झिर’न पाए पुग्यो
जूनकीरीझैँ अँधेरीमा चम्किर’न पाए पुग्यो
सँगालेर पीडाहरू अँगालेर खुसीहरू
हृदयको गोरेटोमा लम्किर’न पाए पुग्यो
मनको भाखा दिलको लय शब्दबाट पोखिएर
सुस्केरा र सुसेलीमा घन्किर’न पाए पुग्यो
कोट्याएर आफ्नै घाउ बल्झाएर आफ्नै व्यथा
परेलीमा कैलेकाहीँ छल्किर’न पाए पुग्यो
सम्झिएर हिमाल, पहाड सम्झिएर तराईं मधेस
नेपाली भै पटकपटक, जन्मिर’न पाए पुग्यो ।
आदर्शमार्ग, नेपालगञ्ज