Basu Dev Adhikari – Safa Tempo

वासुदेव अधिकारी – सफा टेम्पो
(मधुपर्क जेठ, २०६८)

कति चढ्नु
प्रदुषित टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
कीर्तिपुर जान
उत्ति लाग्ने हो पैसा
उस्तै लाग्ने हो समय
किन चढ्ने धुँवाको टेम्पो ?
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।
सफा टेम्पो र वातावरण
सफा टेम्पो र चढ्नेको मन
कति खुलस्त छ ?
कति सौहार्द्र छ ?
न हावा मैलिने
न मन गिजोलिने
फोक्सो गद्गद् छ साथी
किन चढ्ने फोहोर टेम्पो ?
म त सफा टेम्पो चढ्ने
म त सफा टेम्पो ।
क्या हो !
फोहोर टेम्पोले
सफालाई उछिन्यो नि !
छक्क परेँ म
अक्क न बक्क परेँ म
धुवाँ हान्निदै आयो
हामी घातक प्रदुषणले पुरियौँ
कार्बन मनोअक्साइडले पुरियौँ
वाक्कदिक्क छु
टायरको धुवाँबाट
फोहोर टेम्पोको प्रदुषणबाट ।
टायर सल्किरहेको सडकमा
बराबरै हो
प्रदुषित र सफा टेम्पो चढ्नु
फोहोर टेम्पो पछिपछि गुड्ने
सफा टेम्पो चढ्नु
तर पनि
म त सफा टेम्पो चढ्ने
म त सफा टेम्पो ।
आफ्नै रोजाइ हो
सफा टेम्पो
फोहोर टेम्पोमा सर्नै सक्तिनौँ हामी
सफा टेम्पो उछिन्न सक्तैन
फोहोर टेम्पोलाई
हेर न,
न हावादारी साँेच
न बेठीक निर्णय
किन दण्डित भयो
हाम्रो फोक्सो
किन मैलो भयो
हाम्रो कमिज
तर पनि
म त सफा टेम्पो चढ्ने साथी
म त सफा टेम्पो ।