Pradeep Chapagain – Nayan Nepal

प्रदीप चापागाईं – नयाँ नेपाल

वर सुनेँ
पर सुनेँ
यत्रतत्र फैलिएका
चित्कार,वेदना र कुण्ठाहरु
आगो मिसिएका स्वरहरु
जल्दै गरेका आँखाहरु
एउटा जर्जर भुगोलको
देखेँ कथित परिवर्तनहरु
कथित ‘नयाँ नेपाल’ हरु
त्यसैले त नाच्दा रै’छन्
गुराँस डाँडामा गिद्दहरु
डोलखेतमा ब्वाँसोहरु । ।

कालखण्ड पछिका
कालखण्डहरु
नाम फेरिन्छन्
रंग फेरिन्छन्
राजतन्त्र,लोकतन्त्र बन्छ
गणतन्त्र बन्छ
पदचक्रका
अनुहार फेरिन्छन्
तर फेरिदैँनन् गाउँहरु
धुँवा उड्ने ठाउँहरु
क्षण क्षणमै देखेँ
कथित अग्रगमनहरु
कथित ‘नयाँ नेपाल’हरु
त्यसैले त हाँस्दा रै’छन्
दिल्ली हाँक्ने कुर्सीहरु
‘असल’ छिमेकीका प्रणेताहरु ।।

घरदेशमा
परदेशमा
रोएका मनहरु
बुद्ध सम्झन्छन्
त्यो चुचुरो सम्झन्छन्
दृष्टी दृष्टीमा
जुरे डाँफेहरु नाच्छन्
छाती फुल्छ
अनि, त्यै छातीमा कुल्चिन्छ
कथित परिवर्तनले
कथित अग्रगमनले
स्वयम्भुका आँखाहरुले
सिंहदरबार हेर्दा
कर्णाली बल्झन्छ
तराई सल्कन्छ
आखिर आगो नै त रहेछ
मेचीतिरको नेपाल
कालीतिरको नेपाल
राजधानी नेपाल
यी कथित ‘नयाँ नेपाल’हरु । ।