हेमन्त परदेशी – मरुभूमिको क्याक्टस
तिमी कल्कलाउदो गुलाबको फूल
म आधा सुकिसकेको मरुभूमिको क्याक्टस
अब आफै भन तिमी –
कहाँ छ हामीमा समानता?
हो, प्रेमको कुनै परिधि हुँदैन
उमेर र आयूको सीमा हुँदैन
तर म सोध्न चाहन्छु तिमीलाई –
के आकाश र धर्ती कहिल्यै एक हुन्छ र?
अहँ ! कहिल्यै हुँदैन
नबोलेरै पनि तिम्रो मनले भन्नेछ
अर्थात नचाहेरै पनि हामीले स्वीकार्नै पर्ने
जीवनको यथार्थ नै यही हो ।
उसो र सोचमग्न बनिरहेको छु म
कि, बिहानीको तिम्रो आभा धर्तीमा नपोखिंदै
मेरो जीवनको बैंशालु सूर्य
किन अस्ताचलतर्फ ढल्किएको होला ?
निरुत्तर बनेर डुबुल्की मार्दैछु
तिम्रै कल्पनाका बाल्टिक सागरहरुमा
र, तिम्रो र मेरो आयूको दुरी छोट्याउने चाहनामा
ढल्किएको बैंशसंगै समय पैंचो खोज्दैछु अचेल म ।