Nawaraj Subba – Jagriti Ka Parewa Haru

आजकल जागृतिहरू रोगाएर
दरिद्रता, अज्ञानता र असन्तोषको अँध्यारोमा
समस्यैसमस्याको गन्धमा सास फेर्दै
मनभित्र सुटुक्क लुकिरहेछन्
कुष्ठरोगग्रस्त चेतनाहरू
जो कुहिन लागिरहेछन्
कुरुप हुन लागेका छन्
यी हाम्रा चेतना र जागृतिहरू
कुनैबेला बन्धकीमा राखिएको भए
लाटो टाटो हैन
वातावरणको चिसो तातो थाहा पाउने
एउटा स्वस्थ स्नायु र चेतना खातिर
हामी संघर्ष गरौं पहिले आफैसित
आफैंमाथि विजय गर्न
छाडिदिऔं उन्मुक्त जागृतिका परेवाहरू
सिर्जनाको यो नीलो आकाशमा
मान्छे मान्छे नचिनिने
अविश्वासका कुहिरो छिचोलौं
मानवताको उज्यालो प्रकाशमा ।