Shiva Gautam – Naya Purana Bata Haru

शिव गौतम – नयाँ पुराना बाटाहरु

कहिले म,
कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा
आँफैलाई छर्दै हिंड्छु
आँफैलाई छोड्दै हिंड्छु
आँफैलाई राख्तै हिंड्छु
दृश्यहरुमा, सल्लाका सुसाईहरुमा
डाँडाका टु्प्पाका बादलहरुमा
बाटाका चिया पसलहरुमा।

अनि फेरि कहिले म,
पहिल्यै हिंडिसकेका उनै बाटाहरुमा
आफैलाई खोज्दै हिंड्छु
आँफैलाई बटुल्दै हिंडछु
उनै दृश्यहरुमा, उनै सुसाईहरुमा
उनै बादलहरुमा, उनै चिया पसलहरुमा।

तर हरेक पल्ट ठ्याक्कै उस्तै हुँदैन,
कतै न कतै, केहि न केहि फरक पाउँछु,
कतै नयाँ पहिरो
कतै नयाँ डढेलो;
कहिले डाँडामा बादल हुँदै हुँदैन
कतै आँफैलाई भेट्छु, कतै भेट्तै भेट्दिन;
जहाँ भेट्छु, जीवन्त अनुभव गर्छु
जहाँ भेट्दिन, जीवन-अन्त अनुभव गर्छु;
जहाँ भेट्छु, रमाउँछु
जहाँ भेट्दिन, आँखाभरी रसाउँछु।

(Sent to Sanjaal Corps Via Email)