प्रतिमा के.सी. – कसरी मनाउँ ‘मदर्श डे’
बाल मानसपटलमा
चेतना अंकुराउने बिहानीदेखि
तिम्रो मातृत्वको छ्हारीबाट अपहरित भएर
अधुरा सपना र अपुरा भावनाको
छालहरुमा छचल्किँदै
आँसुको बन्दकीमा परेको
यो जिन्द गी ले यस क्षणमा
तिमीलाई श्रदा गर्ने
यो दिन
म कसो गरी मनाउँ ?
हाँसेर मनाउँ वा
रोएर मनाउँ ?
तिमीले दिएको उपहार
यस जीवनको तीन चौंथाई भाग
तिम्रो मातृत्व कै अभावमा छट्पटीएको छ
रिक्तताको आँधीले झकझकाई रहेको छ
तिमीले जिम्मा लाएका आफन्तहरु
निर्दयी स्वार्थी र पराई भैसकेका छन
नीरिह मानव प्राणीको रुपमा
असुरक्षित भएर बाँच्नु पर्दा
धैर्यताको बाँध फुटी
मनभित्रको सुनामीले
आतंक मच्चाएको छ
आमा शब्दबाट परिचित नहुनुको विवशताले
सिंगो जीवन काकाकुल भएको घडीमा
म कुन शब्द सौगातले
तिमीलाई श्रदा गरुं
बताऊ आमा !
यो दिन
कसरी ग्रहण गरुं ?
तिम्रो काखमा लुटुपुटु गर्ने
ईच्छाहरु उहिल्यै निमोठीएका थिए
समयले उमारेका कलिला भावनाहरु
भताभुङ्ग र लथालिंग भएका थिए
औंसीको कालो बादलले घेरेको
त्यो क्षण अति दुखिरहन्थ्यो
निरन्तर दुखिरहन्थ्यो
अहिले पनि त्यसरी नै दुखिरहेको छ
हरेक पाईलामा अभाव खड्किरहेको छ
कहिल्यै खाटा नबस्ने यो घाउ
जिन्दगीको अन्तेष्टिसम्म
बल्झिरहने छ चहराईरहने छ
यहीं दुखेको आत्मा र भिजेका परेलीबाट
तिमीलाई श्रदासुमन /
जे जसो भए पनि
तिमीले मानव जीवन दियौ
म मानव जीवनको संघर्षशिल मैदानमा
अनबरत रुपमा बेहिसाब पछारीए
सत्यको नजिक रहेर
जीवनको लडाईं लड्न सकुं
यत्ति नै मेरो माग छ तिमीसंग
मनको आन्दोलनलाई लुकाउन खोजेर पनि
‘मदर्श डे’ को चहलपहलले मनलाई
अलिकति उक्काईदियो दुखाईदियो
नचाहँदा नचाहँदै पनि म शब्दमा
पोखिन खोजें
रित्तिन खोजें
भनिदेउ आमा मलाई
यो दिन कसरी मनाउ ?
आँसुमय भएर मनाउ वा
अभावको पिङमा मच्चिदै
उधारो हाँसो हाँसेर मनाउ
भनिदेउ आमा मलाई
मदर्श डे
कसरी मनाउँ ?
२ अप्रिल २०११
बेलायत