Pratima KC – Aghoshit Yuddha

प्रतिमा के.सी. – अघोषित युद्ध

एउटा अघोषित युद्ध
चलिरहेछ
निरन्तर चलिरहेछ
शताब्दियौं देखि आजसम्म
हो त्यो अघोषित युद्धमा
बमहरु निस्क्रिय छन
बन्दुकहरु सुतेका छन
बारुदको धुवाँ अल्मलिएको छ
अरु बमहरु साथी बमको प्रतिक्षामा
टोलाइरहेका छन
तर पनि
घनघोर युद्ध चलिरहे कै छ /

यस युद्धमा हजारौं मरेका छन
तर कसैलाई शहिद घोषणा गरिएको छैन
लाखौंको आँसु बगेको छ
तर आँसु रित्तिएको छैन
यस युद्धका मागपत्रहरु
धर्म र सामाजिक संस्कारका अदालतमा
पेश गरिएका छन
मानवीय न्यायको कठघरामा उभ्याईएको छ
बिना निश्कर्ष
अनिणयको बन्दीमा यी मानवहरुलाई
त्यसैले
यो युद्ध लगातार चलिरहेको छ /

यो युद्धले तपसिलका कामहरु
हडताल चक्काजाम ढुंगामुढा अपहरण
फिरौदी जेल नेल सजाँय केहि गरेको छैन
हाम्रो राज्य सत्तामा दर्ज नभएको
यस युद्धले
धर्म संकारका मेसिनगनसंग
निसस्त्र जुधेको छ
सामन्ती संस्कारका अस्त्रहरुले
क्षत बिक्षत पारिएको छ
मानवीय विभेदको हथकडी लगाईएको छ
यो युद्धका सिपाहीहरुलाई /

हो यो युद्धका जनताको
स्वतन्त्रताको हनन गरिएको छ
स्वविवेकमा प्रतिबन्ध लगाईएको छ
बिचार, भावना र चेतनालाई दमित गरिएको छ
बिक्रीमा राखेको वस्तु सरह
किनबेच गरिएको छ
जसले जे चाह्यो त्यहिँ हुने
निर्विकल्प नीरिह प्राणीको रुपमा
उपभोग गरिने यीनिहरुको
सदियौं देखिको युद्ध
मौन मौन छ /

हो यसरी नै,
मानवीय प्राणीको पहिचान स्वरूप
परिवर्तनशिल सभ्यताको क्षितिजमा पुग्न
निरन्तर समयको पर्खाइमा
एउटा मौन र अघोषित युद्धको
बिगुल बजिरहेको छ
अन्तर मनको सन्नाटाभित्र
हो त्यो युद्ध चलिरहेको छ
अघोषित युद्ध
ती युद्धका निसस्त्र लडाकु हुन
हाम्री आमा दिदी बहिनी
समस्त नेपाली महिला /

रुपन्देही
हाल: बेलायत
२७ फेब्रुअरी २०११

(Sent to Sanjaal Corps Via Email)