Pratima KC – Nepali Kalam

प्रतिमा के.सी. – नेपाली कलम

हिमालमुनी तराई माथी पहाडलाई सलाम हजुर ।
त्यही पहाडको म नेपाली म नेपालको कलम हजुर ।।

परदेशमा पनि हाम्रा धेरै संस्कृति छन्
तीनैलाई जोगाउन सबै लागि पर्छन्
नेपालीपन बचाउने मनहरुलाई सलाम हजुर
म त पोख्छु नेपालीपन म नेपालको कलम हजुर

अनौठो यो प्रकृति नै बर्णनयोग्य भए पनि
दुख सुख जनजीबनका हजार बिषय भए पनि
आफनै भाषा प्यारो लाग्छ त्यही भाषालाई सलाम हजुर
म त बोल्छु नेपाली मै म नेपालको कलम हजुर

सुख सुबिधा भोग गरी परदेशमा बसे पनि
जाडोसंग लडाई गर्दा दुई चार पैसा खसे पनि
आफनै माटो प्यारो लाग्छ त्यही माटोलाई सलाम हजुर
म बगाउंछु नेपाली मसी म नेपालको कलम हजुर

समुद्रको छालभन्दा गण्डकीको कोलाहल मीठो
रेलयात्रा ट्युबयात्रा भन्दा मेरो देशको पैदल यात्रा मीठो
आफनै देश प्यारो लाग्छ मेरो देशलाई सलाम हजुर
म गाउंछु नेपाली गीत म नेपालको कलम हजुर

२९ नोभेम्बर २०१० / बेलायत

(Sent to Sanjaal Corps Via Email)