Hari Ghimire – Tirkha

हरि घिमिरे – तीर्खा

जीवन चिन्न त मन हुनु पर्छ,आँखा होइन
पानी चिन्न त तीर्खा हुनु पर्छ,झर्ना होइन।
ज्ञानचक्षुले हेर्ने हो भने-सबै साधु बन्छन्
त्यसैले होला-
रोगी-बृद्ध-र मूर्दालाई देखेर
बुद्ध साधु भए
राजाका छोरा सन्यासी भए।
चर्मचक्षुले बाहिरी तिर्खालु बाटो रोज्छ
सुरा-सुन्दरी भेट्छ
तीर्खा मेट्छ
चाहे त्यो मृग-तृष्णा नै किन नहोस्
जीवन धन्य ठान्छ
त्यसैले सबै बुद्ध हुँदैनन्
सबै साधु हुँदैनन्
किनभने
सबै ज्ञानचक्षुले हेर्दैनन्।
जन्म/ यौवन/ जरा मृत्यु छ।
रोग/ पीडा/ वियोग/ वेदना छ।
जसले हेर्छ-बुझ्छ
तीर्खा मेट्छ
धर्म मान्ने होइन-धर्म जान्ने हो
जीवन चिन्ने हो
त्यसैले ईश्वर भेट्छ!!