नवराज सुब्बा- म लाटोकोसेरो
आजकल म ऐनामा
आफुलाई ठ्याक्कै
लाटोकोसेरो देख्छु
हुन त
मैले भन्दा राम्रो सपना
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना
कसले गरेको होला र !
स्वर्गकी परीसित म जति
नाचेको कसले होला र !
कसले चाखेको छ अमृतको स्वाद ?
त्यो मैले चाखेको छु तर सपनामा
साला ! यही विपना एउटा पो
ठ्याक्कै उल्टो भइदिन्छ र
मैले उल्लु बन्नु परेको छ
यसो आँखा उघार्छु
सपनामा देखेका विद्यालयहरू
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि वा शान्तिभूमिलाई
परायभूमि वा युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको पो देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन्
उफ् !
यो सब् म के देख्छु –
मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्
पखेटाहरू पनि छन् केवल उडान छैनन्
छ स्वतन्त्र आकास फतग गन्तव्य छैनन्
ऐनामा म आजकल
सायद अरु हैन आफू नै देख्छु
अचम्म ! टीठलाग्दो उल्लु देख्छु ।