भक्ति घिमिरे ‘दुर्बोध’ – वर्तमान
(Source: मधुपर्क मंसिर, २०६७)
बाटोभरि
गोमन सर्पहरू
सल्बलाइरहेछन्
र
फणा फिजाइरहेछन् ।
गन्तव्य रोकिएको छ
शून्यताभित्र
देश आफैँ हराएपछि
ममता
चुडिन खोजेपछि
मुठ्ठीहरू कसिन थालेका छन्
मामका लागि लाम लागिरहेछौँ हामी
स्वाभिमानको जित खोजिरहेछौँ हामी
हाम्रो छाती चहर्याइरहेछ
पैताला घोचिरहेछ
कालापानीमा
सुस्तामा
मानेभञ्ज्याङमा…..!
तिमी त हृविस्कीको चुस्कीमा
मस्त छौ
म निःशब्द भएको छु
र
सीमारेखाको खोजीमा
दसगजा क्षेत्रमा हराइरहेछु
मेरा पाइतालाबाट
रगत बगिरहेछ
र
कोरिरहेको छ
रातो सीमारेखा ।
लिलामीमा परेको स्वाभिमान
बन्धक राखेर
कसरी गौरवको गीत गाउँ म ?
हिजो आज
फूलबारीमा फूलहरू फुल्दैनन्
भमराहरू डुल्दैनन्
पुतलीहरू उड्दैनन् ।
पानीको मूल सुकेको छ
भूलैभूलका हूलहरूभित्र
चरचर चहर्याइरहेछ
मुटु
हलहल बगिरहेछ रगत
ए ! आऊ न !
अलिकति मलम लगाऔँ
अलिअलि कलम चलाऔँ
हाम्रो हराएको
सीमा स्तम्भ भेटिन्छ कि
गौरवको सगरमाथा अलि ठडिन्छ कि !