Ram Prasad Prasain – Lajjawati ‘Girish’ Ma

रामप्रसाद प्रसाईं – लज्जावती ‘गिरिश’ म

निर्मिमेष जीवनबोध
सपनाका सुन्दर भष्मेहरू
टारबारीमा फ/फुलेका
विशुध्द तिक्तताहरूले
कोपिला न/फक्रदाफक्रदै
मान्छेहरू बिबश हुंदाबखत
ढाकरहरूबाट
तपतपतप
नूनिलो अनुभवमा
चुहिएपछि।

तिम्रा आकाशहरू
असीमित
निस्फिक्री
अनि निशर्त भए होलान्,
तर आकाशहरू सीमित हुन्छन्-
शर्तहरूका आधारशिविरमा
समानान्तर ज्वारभाटाहरू
क्षितिजमा मे/भेटिएको बेला।

अन्तहीन शुन्यताहरू
जिजीविषा

अस्तित्वको नाममा
धा/भावक
यी भित्ताका अनुहारहरू
या यी अनुहारभित्रका भित्ताहरू
अभ्यस्त छन्-
‘जेडाबाइट’ संग्रहको
सञ्जाल-संसारमा।

असारे रोपाइंहरू
सारहीन असारहरू झैं-
भाकल नपुगेका पाठाहरू,
मान्छेको निधा्रमा
भाग्य लेख्ने-छैंठी,
अ/मूर्त विचारमैथूनको
प्राचीन काकताली-
समय देउरालीको।

ट्वाकल नचढेका सुत्लाहरू
थाकल नलागेका
झारल, घोरल अनि थारहरू
अस्तित्वको नाममा
जीवन भुटिरहेछन्
प्रफुल्लित हांडी र
अगेनामाथि सेकिएको
होर्लाङ्गेभरि।

न/बांच्नुको
बे/नियम शुत्रहरूको
बिरोधाभाषमा,
मुर्तिवत् समयको
कित्तामा टांसिएको
मान्छे,
चेतनाको बुंद बुंदमा,
रस्वादन गरिरहन्छ-
जीवनबोध,
निरर्मिमेष छ-
निरन्तर यात्रामा।

जुलाई २६, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)