Abir Khaling – Maane Kaaka

अबिर खालिङ्ग – माने काका

बारीको डीलमा उभिएको उत्तीसको रुखसंग
माने काकालाई बह पोखाउन
मन लागेको छ ।

डब्लु डब्लु डब्लु डट कम मानबहादुर कार्की लग अन गर्दा
किन नपाएको होला उसको पेज ?
एउटा चोली र गुन्युको मात्र सपना देखने
आफ्नी स्वास्नीको अरु केही सपनाहरु थिए कि ?
हातमा समयले थमाईदिएको ल्यापटप बोकेर
बुढो उत्तीसको रुख हेर्दै
माने काका डुली रहन्छ साइबर जंगलमा ।

कुवैतको सम्पन्न बलौटे माटोबाट
छोरोले फेसबुकमा लेखेछ
घरबारी उकास्ने कुराहरु / देखेका सुख सपनाहरु ।
बुहारी नाती जन्माएपछि
शहर पस्छु भन्दैछे
कुखुराहरू / बाख्राहरू कोही हुँदैन शहरमा
एक्लो हुनुको भयले सार्है त्रस्त छ ।

उत्तीसको बुढो रुख रोपिदिने
बराज्यूको सपनाहरू किन सुरक्षित छैन ?
डाटाको महा जंगलमा पनि
किन भोको छ हाम्रो प्यास?
माने काकाको चार कोरी उमेर ले सोधेको छ –
‘खोई कहाँ छन हाम्रा चेप्ज्यूका ओभानो गीतहरु?’

फेसबुकमा देखेको छ उसले
छोरोको अनुहारको किताब /
कति रंगहीन ।
अब को तीन बर्षमा छोरो आउँछ कि आऊंदैन घर
गुगल र याहू चुपचाप छन।

समयको ल्यापटप बोकेर
उत्तीसको फेदमा
उडिरहेछ माने काका
साइबर जंगल डुल्दै।

(Sent to Sanjaal Corps via Email)