बोध राज पन्त ‘अनागत’ – देश एउटा प्रोफाइल
मैले यो धर्तीमा सोंचें फूलफूल पलाउँछ
फुलले खटीरा पीला भित्रभित्र गलाउँछ
कोशी कर्णालीको माया छातीमा सल्बलाउँछ
भाग्य नेपालीको बास बस्न यै ठाँउ आउँछ
ढल्छन् दूर्गहरु छिट्टै स्वार्थका ब्यभिचारका
झूपडी झूपडी पुग्छन् चेतना अधिकारका
न क्वै अन्यायमा रुन्छ धातमा प्रतिघातमा
मेरो देश म हेर्ने छु अन्नका खातखातमा
मेची शिर उठाएर महाकाली चियाउला
गण्डकी किस्तीमा फूल लिएर भेट्न आउला
नेपाली भित्र नेपाल हर्षले खित्खिताउला
बैनी भेट्न भनि रारा फेवा आगन धाउला
हेर्थें आकाशका तारा हर्षले टिल्पिलाउँथे
जुनको गोधुलीभित्र देखिन्थे र बिलाउँथे
हिमाल छाती खोलेर उभिन्थ्यो शूरवीर झैं
पहाड मुक्तिका निम्ति देखिन्थ्यो तीक्ष्ण तीरझैं
कति आशा लिई छाती गोली खान तयार थे
सधवा विधवा बन्न खुसीले तम्तयार थे
काँधमा लाश छोराको बोकेर लडखडाउदै
हिडथे बाबुहरु बाटो पताका फर्फराउदै
अब नेपालमा यौटा विहानी झिल्मिलाउँछ
सदियौं देखिको कालो मैलो आफै हराउँछ
मैले सोंचे तिमी सोंच्यौ ,सबैको साेच यै थियो
थाहा थिएन त्यो हाम्रो साेचमा खोट कैं थियो
अैले यो धर्तीमा देख्छु काँढा काँढा जताततै
पाकेका खटीरा पीला गीला गीला जताततै
पैताला मनि कुल्चेर आफ्नो मस्तकको गति
श्रीमति बेच्न हिड्दैछन हिन्दू आदर्शका पति
किन कर्णालीको माया आज छिन्नबिच्छिन्न छ
उही छाती उही मुख आवाज भिन्नभिन्न छ
हिजोका बाँसुरी आज खैंजडीझैं कराउंछन्
आदर्श शीतबिन्दुझैं यत्ति छिट्टै हराउछन् ?
हिजो जंगलमा देख्दा दुर्गा वाहनझैं थिए
सदाचारी थिए बोल्दा मोती टप्टप खस्दथे
भोका नाङ्गा दरीद्रीका मुक्तियोद्धा महारथी
न्याय आवाजका शंख फुक्ने अर्जुन सारथी
आज हिंशक हिंसामा दत्तचित्त म देख्दछु
रक्तको कुण्डमा मुण्ड गाडेको पनि देख्दछु
जस्को कांध चढी हिड्छन् उसैको शरच्छेदन
जस्को विश्वासमा बाँचे उसैको गति भेदन
हिजोको पर्णकुटी जो उन्को आश्रयको थलो
आज छैन त्यहां भीमकाय बिल्डिङ पो फल्यो
थाहा थिएन विश्वास आस्था बेचेर बिक्दछ
खिया विवेकमा लाग्छ आत्मा बेचेर बिक्दछ
नारा भाषणमा देश मानो सुन्दरी हो अझै
तिमी भन्छौ, म देख्दैछु देशलार्ई बूढी बज्यै
टेक्ने छैन कुनै लौरो हात खुट्टा बिदीर्ण छन्
हड्डीमा धमिरा लागे आकांक्षा जीर्ण जीर्ण छन्
छोराको घरमा जान्छिन् चौकिदार धपाउँछ
छोरीको घरमा जान्छिन्् भोटे कुकुर आउँछ
सोध्छु नेपालकी आमा तिम्रो भाग कति पर्यो
भन्छिन् विश्वासको अश्व भीरबाट खसि मर्यो
बाठोको पुत्र हो लाटो, लाटो भाषण गर्दछ
लङ्गडो माइती नातो दौडमा अघि पर्दछ
अन्धोले देशको भाग्यचित्रमा रंग भर्दछ
योग्यता बन्दकोठामा छट्पटिएर मर्दछ
यस्तो कीन? प्रजातन्त्र यसैलाई भनिन्छ र
भक्तिको शक्तिमा मात्रै यस्को बाटो खनिन्छ र
देशको अंशबण्डामा प्रजातन्त्र जुटेपछि
स्वार्थका निम्ति योद्धाका मनोभाव फूटेपछि
बाँकी के हुन्छ ए मान्छे के खान्छौ भोलीको दिन
मैले सक्तिन मान्छे हूँ आफ्नो औकात बिर्सिन
म यौटा कवि मात्रै हूँ देखेको बोल्न खोज्दछु
आत्मघात जता देख्छु उतै बिद्रोह बोल्दछु
नारा भाषणमा मात्रै देशभक्ति हुनेभए
मेरो जिब्रो म थुतेर गण्डकीमा बहाउँछु
स्वार्थ सन्त्रास अन्याय प्रजातन्त्र हुने भए
मेरो आस्था म थुतेर कोशीमा ठिठुर्याँउछु
यता नुन नपाएर हूम्ली क्वै भोकले मर्यो
उता सून चपाएर क्वै स्वार्थ शोकले मर्यो
झूठ्ठा आरोपमा मान्छे छिडीमा कुहियो मर्यो
पुर्वाग्रह भरिएछ प्रजातन्त्र कता पर्यो ?
भेटी माग्दछ हाकीम देश कैं मालमा दुख्यो
योजना तुहिए देश शकुनी चालमा दुख्यो
मिचिए दश्गजा देश आफ्नो आकारमा दुख्यो
तस्करी फैलियो देश भ्रष्ट आचारमा दुख्यो
कविले कविता बेच्यो देश मेरै दुखिरह्यो
कसैले सरिता बेच्यो देश मेरै दुखिरह्यो
पिताले पूत्री बेच्यो रे देश मेरै दुखिरह्यो
सीता साबित्रीको देश धेरैधेरै दुखिरह्यो
शिष्टता मासियो देश कैले संसदमा दुख्यो
पजेरो भित्र टोलायो कैले सांसदमा दुख्यो
तानातान छ खुट्टाको कुर्सीमा पदमा दुख्यो
कति हो सहने? देश सहने हदमा दुख्यो
आफ्नो विश्वासको मान्छे खसीबोका भएपछि
जता चिल्लो सुघाइन्छ उता उता गएपछि
चिल्लोमा लर्किइ देश रगताम्य भएपछि
कति सहन्छ मान्छेले देश नै नरहे पछि
यस्ता बिकृतिका मूल च्याति फाल्न सकिन्न र ?
स्वार्थका दुर्ग आगोमा राखी गाल्न सकिन्न र ?
सकिन्छ, हामीमा यौटा संकल्प फूट्नू पर्दछ
सबै नेपालीमा यौटा आकांक्षा जुट्नू पर्दछ
यत्नले छाइए छानो बर्षामा चुहिदैन रे
आफ्नो बस्ती डढाएर आगो ताप्नु हुँदैन रे
आउ विश्वासको फुल फुलाउन जुटौं अब
जुटेमा हामी भत्कन्छन् फुट्नेका आत्मगौरव
– मणिग्राम,रुपन्देही