ज्योति जंगल – देशविना
(मधुपर्क भदौ , २०६७)
अनावश्यक छौ
नआओ सपना मेरा आँखामा
दृष्टिहरू
मेरो देशको क्षितिजमा छोडिएका छन्
यहाँ विनादृश्यको म
बेठेगाना मात्र हुँ ।
चँुडिएको छु
म हुर्केको बोट त्यतै छाडेर,
पातमाथि राखेर मेरो सत्व
खसें कहाँ त्यसरी
एउटा बूढो पात जस्तो
पहेंलो सन्तुष्टि बोकेर ?
या हरियो जीवन भोगेर ?
वयस्क नमज्जा भोग्छु प्रत्येक श्वासमा
अतीत दंशले पाइलापाइला मरेर चाल्छु
कयौँ वर्ष बिताए पनि
सिमाना बाहिरको बिरानो माटोले
मलाई चिन्दैन,
यो आकाशको नीलोसमेत
तीतो लाग्छ
यो शिविरको पानीमा मेरो तिर्खा
सधैँ प्यासी छ ।
नसता मलाई अपराधी सन्तोष
म आफ्नै देशमा कैदी हुनुथ्यो कि भनेर
धेरै भो
यो शरणको पासोमा
अनस्तित्व हाँसेको परिचय
जरूर लाशसम्म आइपुग्नेछ
अहिले पनि
म बाँचेकै कहाँ छु र ?
– विराटनगर