प्रवीण खालिङ – रूम्तेककी सोनाम
सोनाम
हिमालकी छोरी
तिम्रो आँगनमा न्यानो घाम छामेर
उभिएको छु,
धान फलेको तरेली-तरेली गह्राहरू
सुनको सपना लागेका छन्।
0 0 0 0
हो सोनाम
तिमी एका बिहानै उठेर
विश्व शान्तिको प्रे ह्वील घुमाउछ्यौं
कतै गाँउमा काम लिएर जाँदा पनि
तिम्रा कोमल औलीहरूले स्पर्श गर्दा
ध्यानमग्न प्रे ह्वील तरङ्ग भइ जिउँदा हुन्।
***
सोनाम
बुद्धकी छोरी
तिम्रो गाँउमा शान्ति हेरेर आएको छु
रे खोलामा तिमीले टाँगेको
प्रेमका पताकाहरू
साँच्चै विश्वासको साँघु लागेको छ।
***
बुद्धले छोएको
रूम्तेक भाकेर बसेकी छ्यौं
ऊँ मणि पद्मे हुँ-को सुरभि रचेकी छ्यौं।
त्यसैले सोनाम
मलाई तिम्रो रूम्तेक मनपर्छ
तिम्रो गाँउको डाँडामा
भगवान् भाकेर गाडेको लुङदर
अनि
छ्योर्तेनको मौनताले
पद्मसम्भव बौरिन्छ-बुद्ध फेरि एकपल्ट ब्यौतिन्छ।
***
स-साना राता गाला भएका
लामाहरूका मुहारभरि टल्कन्छन्
रातो सूर्य उदाउने सङ्केत
त्यसैले मनको गीत हो तिम्रो गाँउ
शान्ति रोप्ने-धर्म छर्ने सानो रूम्तेक
तिम्रो रूम्तेक
नलेखिएको कविता हो तिम्रो गाँउ
अनि
नरचिएको सङ्गीत हो तिम्रो प्यारो ठाँउ
अनि त
सोनाम
हिमालकी छोरी
तिम्रो आँगनमा न्यानो घम छामरे
उभिएको छु।
– गान्तोक, पूर्व सिक्किम