आर एम डंगोल – भोज यथावत चलिरहेछ
सुकुलको तहमाथिबाट खबरदारी गरिरहेका
बेवारिसे औँला-हत्केलाहरू
संविधानको त्यान्द्रो चपाउँछन्
र, उग्राउँछन् आराम गरीगरी
समयको यो सुकुल
रोगी संविधानजस्तै अझै खिइँदै छ
यद्यपि, त्यसैमाथि बसेर
मान्छेको सनातन परम्परा भोज खाइरहेछन्
पर्वपर्वको भोज
भोजको निमन्त्रणामा
सधैँ रुने सुकेनाशी रोगी बच्चाहरू पनि छन्
सुकुलमाथि समयले वयस्क बनाइएकाहरू पनि छन्
ती आफ्नो जुठो हात देखाएर
औँसिया झिङ्गाहरूलाई निमन्त्रणा गरिरहेछन्
साइत जुराएर सुकुल बुनिरहेका वृद्ध/वृद्धाहरू
उनीहरू कहिल्यै थाकेनन्
उनीहरू कहिल्यै फेरिएनन्
जस्ताका तस्तै उनीहरू
अरूहरूका लागि नाम्लो बुन्दै छन्, दाम्लो बुन्दै छन्
भोज खान सुकुल बुन्ने यो परम्परा
भारी बोक्न नाम्लो बुन्ने यो परम्परा
भारी बोकाउन दाम्लो बुन्ने यो परम्परा
यथावत् चलिरहेछ
भोज यथावत् चलिरहेछ ।
samaye sandarbik cha poem ani sabda haruma sahiteyko nikhar cha..yo poem padhey pachi desh ko recent paristhiti clear huncha.