Nawaraj Subba – Jeevan Mero Sabdakosh Ma

जीवन मेरो शब्दकोशमा
गीत, कविता, ओठ, पानामा
पोखिएर कहिल्यै नसिद्घिने
मानवता, भाईचारा, समानता हुन्
फूल, पात, जून, तारामा
अभिब्यक्त हुनै नसकेका
मानवीय दृष्टि, स्पर्श, स्वाद, गंध हुन्
जो अन्तर्हृदयका अनुभूति हुन
र जीवनमा अनुवाद हुन चाहन्छन्
आज जीवन
शब्द, अर्थ र आयाम विस्तार गर्दै
धड्कन्मा प्रतिध्वनित हुन खोज्दछ
मेरो जीवन
मेरो शब्दकोशमा ।
जीवन कवि बन्छ कहिले गायक
छिया छिया भएर पनि जीवन
बाँसुरीझैं बज्दछ नायक
ब्याकरणले बाँधिने शब्दावली
मात्र नठान यो जीवन
अशुद्घै सही मलाई मनपर्ने
शब्दकोश हो मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
हातमुख जोर्ने कला सिक्दासिक्दै
कतै बिर्सन लागिएको अर्थ हो जीवन
एक सर्को पिङ दोहोरी नमच्चाँउदै
उमेर ढल्केको पछुतो पनि जीवन
दुखे पनि सबै सामु नसुम्सुम्याई
निकोपार्नु पर्ने घाउ पनि जीवन
लगाउन नमिल्ने फाल्न नसकिएको
चिनो उही पुरानो कोट
मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।
जीवन जिउने नाममा
कतै जुध्नु, जित्नु, हार्नु जीवन
रुनु, हाँस्नु, हाँस्नु, रुनु जीवन
हार्नुको दोष अरु नै कोही जुम्राहरू
आफ्नै भैंसीले आफू सिध्दिएको नदेख्नु
आफू सधैं दिग्भ्रमित, दोधार, दोमन,
न यता न उता पनि त जीवन
यसैले आज म
आफ्नै शब्दकोशमा जीवनको अर्थ
थपिरहेछु, मेटिरहेछु भेटिरहेछु र लेखिरहेछु,
शब्द, भाव, स्वाद, सुवास, धड्कन
सबै आकांक्षा अट्ने शब्दावली
हुनुपर्छ यो जीवन
यही मलाई मन पर्ने
शब्दार्थ मेरो जीवन
जीवन मेरो शब्दकोशमा ।