सोमराज श्रेष्ठ – सपनाको स्वाधीन सत्ता
सपनासँग,
सपनाको स्वाधीन सत्ता छैन ।
तासको महलजसरी
ठडिन्छन् र ढल्छन् सपनाहरू
हावाको झोंकाजसरी
आउँछन् र जान्छन् सपनाहरू
नदीको लहरजसरी
उठ्छन् र सुत्छन् सपनाहरू
यद्यपी
सपनाको ठडाइमा पनि कुनै उचाई छैन
सपनाको ढलाइमा पनि कुनै होचाई छैन
सपनाको उर्ठाईमा पनि कुनै नविनता छैन
सपनाको सुताईमा पनि कुनै मौलिकता छैन
सधैंसधैं
स्वागतका तालीहरू बज्नु अगावै आईपुग्छन् सपनाहरू
सधैंसधैं
बिदाइका हातहरू हल्लिनु अगावै गइसक्छन् सपनाहरू
कुनै बलियो प्रतिपक्षले थर्काएको सरकारजस्तो
कुनै भूतबंगलामा परिणत भैसकेको दरबारजस्तो
सपना छ तर सपना छैन
किनकी
सपनासँग
सपनाको स्वाधीन सत्ता छैन ।
जीवनमा
घरिघरि देख्छौं हामी सपनाहरू
र पनि भोग्छौं विपनाहरूलाई
हामीलाई थाहा छ
विपनाहरू सपनाजस्तो सुकोमल हुँदैन
हामीलाई यो पनि थाहा छ
सपनाहरू विपनाजस्तो निर्दयी हुँदैन
र पनि
बारम्बार खोसिन्छन् हाम्रा सपनाहरू
बारम्बार चोरिन्छन् हाम्रा सपनाहरू
सपनाहरू चोरिनुभन्दा अगावै
सपनाहरू खोसिनुभन्दा अगावै
हामीसँग
सपनालाई पूरा गर्ने सामर्थ्य छैन
किनकी हामीसँग
सपनाको कुनै स्वाधीन सत्ता छैन ।
संसारका उत्कृष्ठ सपनाहरू
सधैंसधैं यसरी नै चोरिएको छ
सधैंसधैं यसरी नै खोसिएको छ
त्यसैले
सपना देख्न खोज्नुभन्दा पहिले अब
जुट्नैपर्ने भएको छ
सपनाको स्वाधीन सत्ता निर्माण गर्न ।