विजय देवकोटा – शहर नाटकमा व्यस्त छ
पश्चिमीकरणको भुवादार विजारोपणवाट हुर्केको
नग्नताको अन्तिम लक्ष्मणरेखा पार गर्दै
म बसेको शहरको केही गल्ली
मध्यदिनमा आधुनिकीकरणको रिहर्सल गर्दैछ
मानौं ;
दर्शनभित्रको नैतिकता र सभ्यताहरु
वस्त्रभित्रका नग्नता हुन्
शताव्दिऔं पुरानो संस्कृतिको धरोहरभित्र
म देख्दैछु ः
नाङ्गो युग नाङगै उठेर
साईन्सफिक्सन भट्टयाउँदैछ,
शहर नारामा व्यस्त छ ।
धार्मिक अनुष्ठानभित्र फैलने
सुगन्धित धुपको अंशभित्र
वारुदको साम्राज्य सुटुक्क फैलन्छ,
मानौं शहर भुसमा लागेको आगो हो,
जो बाहिर ठीकठाक छ,
भित्रभित्रै विग्रहित, विखण्डित छ,
शहर नाटकमा व्यस्त छ ।
सम्वन्धको नक्कली आवरणमा मेरी प्रेमिका
ओरलसेक्सको दर्शनविरोधी कालाकुट विष
मलाई दिनानुदिन पिलाउँछिन्
म घाइते हुन्छु,
छट्पटिएर यन्त्रणाका कठघराभित्र
म मेरो कुमारत्वको न्याय खोज्छुु,
तर पाउँदिन,
त्यो शहरले लुटिसकेको छ,
आज उनी स्वयम् कुमारित्वको हिसाबकिताब माग्दैछिन्
उफ् ! शहरको रवाफ
शहर नाटकमा व्यस्त छ ।
नाटकभित्रको नाटक
एउटा अलौकिक अस्लिल महानाटक
शहरकै नयाँसडकमा बसेर
म एकटङ्कार हेर्दैछु
कति अनौठो शहर,
रहरहरु वन्धक राखेर वाँच्नुपर्ने शहर
पराजयका विभीषिका हुर्काएर
वैराग्यको महापुराण भट्टयाउँदै
ठिमाहा विकासको आवरण ओढेर
शहर आजकाल गाउँतिर बढ्दैछ,
तर मैले देखेको शहर नाटकमा व्यस्त छ ।
गोरखा