दिनेश अधिकारी – तर्क
अफ्रिकी अँध्यारा जङ्गलहरूमा
लौरो टेक्दै
अनगन्ती आमाहरू
अपहरित छोराका लासहरू खोजिरहेछन्
– बारम्बार सुनिरहेछु
नामेबियाका सेपिला खोँचहरूमा
असङ्ख्य निर्दोष यौवनाहरू
चुपचाप चुपचाप निर्वस्त्र हुनुको नियति भोगिरहेछन्
– पटक पटक सुनिरहेछु
विवशताका नपुंसक देवताहरू ढोगेर
लाखौं लाख अफगानीहरू
पालैपालो एकअर्कालाई सङ्गीनमा उनिरहेछन्
– लगातार पढिरहेछु
र, बुझेर
मान्छेभन्दा नजिकको अर्को साइनो हुन सक्दैन
हिमालको काखमुनि
म आफ्ना आँखाहरूमा पत्पती धुवाँउन थालेको छु
नछेक !
मलाइ एकपटक कोलम्बस भएर हिँड्न देऊ !
नरोक !
मलाई एकपटक प्रल्हाद भएर बोल्न देऊ !
थाहा छ
खुट्टामा जंजालहरू फ्याँकेर पहिलेजस्तै
टेप रेकर्डर बज्नुको भाँतीमा
यो पटक पनि तिमी मलाई
अक्षांश र देशान्तरको असमानता सम्झाउने छौ
संस्कृति र संस्कारको बेमेल घोकाउने छौ
हो, म पनि भन्छु –
हामीलाई शासनले बाँडेको छ
हामीलाई इतिहासले अलग्याएको छ
एक-अर्कालाई देख्न सक्ने स्थिति छैन हामीसँग
र, बीचमा लम्पसार परेर
अजङ्ग पहाड सुतेको छ
अथाह समुद्र बगेको छ
र पनि तिमीले जस्तो
आँखामा अन्धकार ओथारो पारेर
निस्पिmक्री निदाउन सक्तिनँ म
एउटै समुद्रको उपस्थितिलाई
मान्छे/मान्छे बीचको विभाजन स्वीकार्न सक्तिनँ म
मलाई मेरो धर्तीको श्रृङ्गार र मान्छेको सम्मान प्यारो छ
मलाई मान्छेको माया र सृष्टिको सम्मान प्यारो छ
र, तर्ककै लागि तर्क गरिरहेछौ भने पनि
म, अप्रिmकी मानसिकताबाट अछुत छैन
सुन !
समुद्रमुनि पनि सतह हुन्छ
र, मैले टेकेको यो माटो
पानी मुनि-मुनि हुँदै
गएर, अफ्रिकी आमा-पैतालाहरूसँग जोडिएको छ
र नामेबियन् दिदी-पैतालाले टेकेको त्यो माटो
पानी मुनि-मुनि हुँदै –
हाम्रा पैतालाहरूसँग जोडिन आइपुगेको छ ।