बालकृण्ण आजाद – दाईलाई मेरो प्रश्न
दाई
किन म आज सम्म
मिथ्या र भ्रममा बांचिरहेछु-
र,
संसार देख्ने मृगतृण्णामा
आफ्नै आंगनका
सुन्दर बेगम बेलीहरुलाई
न्ाजरअन्दाज गरिरहेछु-
अनि,
पिडाहरुलाई परिभाषित गर्ने धुनमा
आफ्नै पैतलाका काँडाहरु छोडेर
ग्याँस च्याम्बरमा जिउदै हुलिएका
कथित मानबका आर्तनाद
महशुस गर्न खोजिरहेछु-
दाई
आखिर किन म
बिम्ब र प्रतिकहरु खोज्ने धुनमा
कहिले बामियान
त कहिले
जैतुनका पहाडमा दौडिरहेछु-
र,दाई
किन मलाई
कबिता भित्रका बिम्बहरुमा
आफ्नै रोल्पा र रुकुम भन्दा
बोलिभिया र निकारागुवा
परेको मन पर्छ-
अनि किन
मंगलसेन र सल्लेरीमा
लड्दा लड्दै मरेका गुमनाम
भोका नेपाली लडाकुका गाथा भन्दा
बोलिभियाको जंगलमा मारिएको
अर्नेष्टो चे ग्वेभाराको गाथा महान लाग्छ-
दाई अझै पनि
किन म मेरा लेखहरुमा
राजा ज्ञानेन्द्र भन्दा
हिटलर र मुसोलिनिकै बिम्बहरु पोख्न
सहज महशुस गरिरहेछु-
र,दाई
किन मैले कोरेका कबिताहरु
अझै पनि अपुरो महशुस गरिरहेछु-
अनि दाई
यहि अपुरो अभिब्यत्तिलाई
परिष्कृत र परिमार्जित बनाउने धुनमा
कबितामा बिम्ब र प्रतिकहरु खोज्न
मेरो अँध्यारो भूगोललाई छिचोलेर
सात समुन्द्र पारि पुग्नुको
अर्को गम्भिर भुल गरिरहेछु-