रामप्रसाद ज्ञवाली – कवि होस् कविताभित्रै …
तपस्वी वृक्ष देखिन्छन् लेकमा कति उर्वर !
लालीगुराँस पाखामा फुलेका कति सुन्दर !
सङ्र्घर्षबाट जन्मेको क्रान्तिकारी युवासरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
पहराबाट फुस्केको छहरा कति सुन्दर !
छहराबाट निस्केको बिजुली झन् मनोहर !
दही मथेर निस्केको न्वाउनी घिउझैँ गरी
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
घारमा फूलको सार खिच्न मौरी बरोबर !
भीरमा श्रमको धारा मह कस्तो मनोहर !
महमा माहुरीभाका गीत भै गुन्जिएसरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
रातमा चम्किएको त्यो जून कस्तो मनोहर !
आगोमा पोलिएको त्यो सुन कस्तो छ सुन्दर !
जाडोगर्मी सबै भागी हुर्केको बिरुवासरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
आफै खोजेर देखेको दृश्यजस्तै मनोहर
आफै भोगेर लेखेको कविता हुन्छ सुन्दर !
हिमाली शिरमा चढ्ने आरोही वीरकै सरि
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।
आफै खुलेर झुल्केको बिहान कति सुन्दर !
आफै फुटेर भुल्केको मुहान कति सुन्दर !
बीउमा बिरुवाजस्तै हाँगामा पातझैँ गरी
कवि होस् कविताभित्रै क्रान्ति होस् कविताभरि ।