Shrawan Kumar Dhungana – Andhyaroma Rang Ko Kunai Artha Chhaina

श्रवणकुमार ढुंगाना – अँध्यारोमा रंगको कुनै अर्थ छैन

जीवन
रंगहरूको मेल हो ।
जीवन
अँध्यारो र उज्यालोको खेल हो ।

अँध्यारोमा रंगको कुनै अर्थ छैन,
इन्द्रेणीमा जस्तै रंगहरूको तह
त्यहाँ हुँदैन ।

अँध्यारो
पर्दा हो आँखा अघिको ।

अँध्यारोमा
चोरहरू सल्वलाउँछन्,
मसानहरू जाग्छन नदी किनारमा,
तान्त्रिकहरू लाग्छन् तन्त्र साधनामा,

बनेका छन् यही अँध्यारोमा अनगिन्ती
काला इतिहाँसहरू ।
पुरीएका छन् यही अँध्यारोमा अनगिन्ती
निर्दोष सपनाहरू ।
विलाएका छन् यही अँध्यारोमा अनगिन्ती
रगतका बलिदानहरू !

अँध्यारो
कपट जस्तै धोकेबाज हुन्छ ।

जीवनको अँध्यारोलाई नै जीवन मान्नेहरू—
कपटी अँध्यारो मुनिका अन्धाहरू—
उज्यालोको सामु
नग्नता उदांगिएको होसै नपाई
आँखा चिम्लेर
ताण्डवमा लीन रहन्छन् ।

कपट
अँध्यारो जस्तै निर्लज्ज हुन्छ ।
अहो,
आवरणमा रहेर पनि उज्यालो पारदर्शी हुन्छ !
इमान जस्तै पारदर्शी हुन्छ !
नांगो भएर पनि अँध्यारो अपारदर्शी हुन्छ !
कपट जस्तै अपारदर्शी हुन्छ !

जीवन
उज्यालो र रंगहरूको सम्बन्ध पनि हो ।
जीवन
कपट र ईमानको द्वन्द पनि हो ।