Somnath Subedi – Abhab

सोमनाथ सुवेदी – अभाव

टक्टकिएर सबै पीडा
सिनित्तै सकिएर हृदयको भक्कानो
म अभावको साम्राज्यमा पुगूँ
जहाँ
अभावैअभाव होस् दुःखको !
सकिएर जम्मै आँखाको आँसु
रुनै नपाउ अबदेखि
झ्याप्पै निभेर हृदयको आगो
जल्नै नपाऊँ कहिल्यै पनि
बरु
घेरिएर आनन्दैआनन्दले
जेलिएर प्रीतैप्रीतको जालोमा
त्यसैत्यसै बरालिएको तन्नेरीजस्तो
छट्पटीहीन हुँनुपरोस् अबदेखि !
अन्यायको पनि अभाव !
आँसुको पनि अभाव !
घात र घाउको पनि अभाव… !
अचाक्ली अभाव भएर दुःखको
तड्पिने बहाना पनि सकियोस्
सबै जोहो सकिएर पीडाको
मुस्कानले
फूलको गद्दीमा बसेर शासन गरोस्
तर कहिल्यै नसकियोस्
मेरो देशमा घृणाको अभाव !
दुर्गम पहाडको कुनै जङ्गलमा
निर्वाद उडेको चराजस्तो
निस्पिक्रि, निःसङ्कोच, निर्भय
नछेकिई हिडियोस् बाटोमा
भित्रिदै गरेकी नवदुलहीका खातिर
फूल र दियोका सामुन्ने
खोलिएको मूल ढोकाजस्तो
बन्द नहोस
मेरो देश कहिल्यै पनि
बरु
सत्यानाश भएर त्रासको अबदेखि
मेरो देशमा
अभावैअभाव होस् दुःखको !