Rama Adhikari Kadambari – Gasnu Parne Man Haru

रमा अधिकारी ”कादम्बरी” – गाँस्नु पर्ने मनहरु

मनहरु
एकताको मालामा गाँसिएकै जाति हुन्छ
मनहरु
मायाको धागोमा उनिएकै बेस हुन्छ
मनसँग मन टाढिएको सुहाउँदैन
मनले मनलाई रुवाएको शुभ हुँदैन ।
मन फाटेपछि
घृणा साटेपछि
हिंस्रक हुन्छ मान्छे
त्रासद हुन्छ समय
जुनसुकै धु्रवको होस्
मन कोमल हुनर्ुपर्छ
जुनसुकै धर्म होस्
मनले त कर्मको पूजा गर्नुपर्छ
मनलाई बारुदको गन्धभन्दा
बाँसुरीको सङ्गीत मनपर्छ
मनले विनाशको आतंकभन्दा
विकासको लहर रुचाउँछ ।
बधशालामा बुद्ध बाँधेर
थपडी बजाउने मनहरुका विरुद्धमा
नवीन क्रान्ति उद्घोष गर्न
विश्ववन्धुत्वको सपना देख्नर्ुपर्छ ।
धर्ती रुवाएर
उत्सव मनाउने
शकुनी मनहरुका विपक्षमा
नयाँ युगको शंखघोष गर्न
‘बसुद्यैव कुटुम्बकम्’ को
धुन गुन्गुनाउनु पर्छ ।
मन आखिर जहाँ रहेपनि
मन नै त हो
श्रम रोपेर सिर्जना पस्कने
मनहरु र बुद्ध बनेर
शान्ति फैलाउने मनहरु
एकआपसमा गाँस्न पाए
सोच्नोस् त कस्तो हुन्थ्यो धर्ती – ।