सइन्द्र सानिध्य – नदोहोर्याउने कसम
खोटाङ
आज फेरि दोहोर्याउँछु
उही शब्द, जो पहिले–पहिले भन्ने गर्थे
बाबाले, बाजेले र बराजुले
‘कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .’
सायद,
आफ्नो दुर्गतिले बिचल्लीमा पर्ने
आफन्तको अश्रुबिन्ती देखेर होला
स्वाभिमानी मनले त्यो काम नगर नभनेर होला
कल्पनाको गगनमा उड्दै जाँदा
ठोक्किने पहाड देखेर होला
जो दोहोरिरहने आदतले
आफू बेचिएको बुझेर होला
अर्थात् अरू केही कारणले होला
उही शब्द फेरि दोहार्याउँछु
‘कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .’
तर,
जुन काम गर्दिनँ भन्दै आएको छु
त्यसैको मूलप्रवाहमा आज पनि
हिजोअस्ति जसरी, प्रवाहित थिए
कसमपछि पनि दोहोर्याउँदै छु
थाहा छैन अब पनि दोहोर्याउन सक्छु
यो कामले मेरो चित्त बुझेकै छैन
त्यसैले त फेरि दोहोर्याउँछु
‘कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .’
के थाहा तिमीलाई,
म आफ्नो पीडा भुल्नलाई यो काम दोहोर्याउँछु
अनेकन अभावपूर्तिका लागि
एउटा मनयोजना बनाउँछु
अनि असफल योजनाले छट्पटिँदा
यो काम गर्न पुग्छु
जुन काम कहिल्यै गर्दिनँ भनेको हुन्छु
त्यसैले फेरि दोहोर्याउँछु
‘कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .’
तिमी नबुझी,
विश्वास गर्दैनौ मेरो ‘कसम’प्रति
कुन सत्यको विश्वास दिलाऊँ
तिम्रै सल्लाहको मन्दनीले त हल्लेको छु
त्यही सूर्योदयको ज्योतिरुपी आँखा देखेर त
आफैँलाई गलत भनी
अर्काेपटक दोहोर्याएको छु
‘कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .’
रहर कहाँ हो र ?
सबैको मनले नमानेको काम दोहोर्याउनु
आफ्नै सपनीलाई मृत्युशैयामा पुर्याउनु
कसम खाँदै फेरि दोहोर्याउनु
बिरूवाले पात थप्नै खोज्छ, घट्न त मान्दैन
सोच्छु बाँच्नुको यो पराकाष्टा हो कि ?
आधार बुझ्नै सकिनँ!
त्यसैले फेरि पनि दोहोर्याउँछु
‘कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .’