खगेन्द्र पन्धाक लिम्बू – अग्नि ललकार
म युयुत्सु हुँ
मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु
मेरो अखण्डता
र
सार्बभौम सत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु
लड्छु तिमीसंगै
कोलोनी बाँच्न सक्दिन
दुई दशमलब चार प्रतिसत
भूगोलको फोक्टीमा
धरतीका सारा
पन्ध्र प्रतिशत
मान्छे/अ/मान्छे बीच
डढेलो सल्काउन चाहन्न
मेरो शरीरभरि
झुल्ला थापेर
चकमक नपार
ममाथि तेल नथप
म
अहिले आगो भएकोछु
शैलाधिपबाट
तिमीले चोरेका माटो
र
बंग्याएको ईतिहांसमा
अब,
लाभा उमालेर छोड्छु
विस्तारवादी आतंककारी !
कुमनुच्छे !
तँलाई तुन्द्रुंगमा हाल्छु
हाल्छु तँलाई तुन्द्रुंगमा
क्लिव !
अज्यौली थापेर
जाफ्ता च्यात्न
म पनि जान्दछु
अचैतन्य !
लोहकिल मिच्दै
मसंग सेम थपेर बढ्दैछौ
भीरमा बसेर
सोघा झैं नतर्साऊ
तिम्रो कल्पान्त नजिकिएकोछ
मेरो राष्ट्रियतामा धावा नबोल
लोदर योपन सहन सक्दिन
म वाग्मीपुत्र हुँ
अग्निशर्मा हुँ
अग्रेठ भएकोछु
स्वतन्त्र भुतल/व्योमप्रेमी
हिमाली राज्यको
प्रगल्भ नेपाली हुँ
स्वाभिमानमा अपच
अतिक्रमण अक्षम्य छ
तिम्रो भौज्य होइन यो मेची-महाकाली
स्वाभिमान र स्वतन्त्रताको निमित्त
यो अझेटोमा
पुरै अढाई करोड भन्दा
बढी प्राणले
एकै चोटी
प्रतिरक्षात्मक रुपमा
अन्गुली खेल्दै
पृथ्वी रंग्याउन तयारछु
मेरो इरादा बुझेर घुंडा टेक
भाग यहाँबाट
र
रोटी पोलेर खाऊ
धोतीले इज्जत छोप्न सिक
त्यहिँ तिम्रो भलो छ
म योगक्षेममा छुच्चोछु
यो विपुलामा
मेरो पनि आफ्नै देश छ
कोलोनी बाँच्न सक्दिन
खबरदारीको यो अन्तिम पत्र हो –
अन्यथा,
म अन्तिम युद्ध तिमीसंगै लड्छु
अजस्त्र म नेपालभक्त हुँ
– २०१० अगष्ट ०७