Jayram Timalsina – Hridaya Ko Manchhe

जयराम तिमल्सिना – ह्रृदयको मान्छे

भोकसँग पौंठेजोरी खेल्दै
अनिकालमा
एक दुई दाना मकैको गेडो
जोगाउँछिन् मेरी आमा र
तिनै दानाहरूमा
सपना देख्छिन्
नयाँ नेपालको ॥

आगो पैंचो नपाएको
कन्जुस्याईं भोगिरहेकी मेरी आमा
साहनुभूति र सद्भावका पोकाहरु
हृदयको कुनामा सजाउन
मान्छेभित्रै
अर्को मान्छे खोजिरहेछिन् ।

यौवनका श्रृंगारहरु
मायालुका आँखामा सजाउन
भौतारिरहने मेरा बाबा
पिठ्युँमा बोकेर
दुःखका ढाक्करहरु
बगाइरहेछन् पसिनाका नदीहरु
भोक र लाजले
खडा गरेका दुःखका
पहाडहरू भत्काउन ॥

आँगनीको डिलमा
ओठभरि मुस्कान संगाली
मेरा बाबा-आमा
फूलको भाषा नबुझ्ने
मान्छेहरु हेरिरहेछन्
विचलित अवरोधक र
बदला भावनाका
बदलामा
आँखा सल्काएर
हाम्रा अचेतन मनहरुलाई
अगेनीमा
उज्यालोको एक झिल्का
देखाइरहेछन्
तिनै
अदृश्य मायाले
पूर्णता पाएको अनुभूति
आँखाभरि सजाउन
सधैभरि
मानव आकृति
बगोस् न आँखाबाट
मानिस बनेर ।