Ananda Ram Paudel – Ganatantra Diwas

आनन्दराम पौडेल – गणतन्त्र दिवस
(मधुपर्क साउन, २०६७)

पार्टीको कार्यकर्ता
अबेला उठ्यो
कागजको एउटा टुक्रामा
‘व’ अक्षर देख्यो
वर्गसङ्घर्षका कसहरू
रेडलेबलले कुल्ला गरिसकेको हो
यो शब्दले तैपनि पिछा छाडेन
मनमनै भन्यो
त्यो कागज फाल्यो
र पिच्च थुक्यो ।
नयाँ यात्राको लागि
जातपातका मरमसला हालेर
राजनीतिक पकवान तयार गर्‍यो
तात्तातो नाराको लेवल लगायो
विचारसँगै लुगा फेर्‍यो
चिरिच्याट्ट पर्‍यो
जीवनशैली बदल्यो
मोटरसाइकल स्टार्ट गर्‍यो
र कुद्यो ।
गणतन्त्र दिवसको कार्यक्रम
झकिझकाउ थियो
बाजागाजा
नारा-जुलुस
र चर्का भाषण थिए
मञ्चमा अरू सबै थिए
लोकतन्त्र थिएन
छक्क पर्‍यो
झल्याँस्स सम्झ्यो
दौडेर कोठामा गयो
लोकतन्त्र सुतिरहेकै थियो
बिहान राखिदिएको चिया
चिस्सिइसकेको र धूलो जमेको थियो ।

– हेटौंडा-११, नवलपुर