विनोद अर्याल – ब्यारेकको दूबो
(मधुपर्क साउन, २०६७)
म ब्यारेकको दूबो
कहिले जङ्गी बुटहरूले
कहिले बन्दुकका नाल र कुन्दाले
कहिले रातो तातो गोलीले
सत्ताका खेलाडीहरू
मेरो टाउकोमा खेलिरहेछन् ।
म तल भुइँमा बाँच्ने विरूवा
म आफ्नो माटो छोड्न सक्तिन ।
शक्तिको भाषा म बोल्न सक्तिन ।
आफ्नो स्वार्थ म भन्न सक्तिन ।
त्यसैले कहिले घोडाको टापले कुल्चेर
कहिले तोप पड्काएर
कहिले गोलाबारुदले मेरो चिथडा उडाएर
सत्ताका खेलाडीहरू
मेरो छातीमा परेड खेलिरहेछन् ।
धरती सबै जीवहरूको वासस्थान हो ।
बाँच्नु र बाँच्न दिनुको अधिकार बिरुद्ध
मेरो अस्मिता र संस्कार बिरुद्ध
युद्धको भाषामा हुँकार भनिरहेछन् ।
त्यसैले कहिले खाल्टो खनेर
कहिले बारुद विछ्याएर
कहिले काँडेतारको छेकबार लगाएर
मेरो बाँच्ने इच्छाहरूलाई कुल्चँदै
मेरो शरीरमाथि ट्याङ्क गुडाइरहेछन् ।
म मेरो परिचय जोगाउने प्रयासमा
सत्ताका खेलाडीहरूको घात/प्रतिघात सहेर
आफ्नो माटोमा बारुद निल्दै/बारुद ओकल्दै
शरणार्थीको जीवन बिताइरहेछु
म ब्यारेकको दूबो ।
– कालधारा,काठमाडौँ