प्रतिरोध कार्की – छायाँ
(मधुपर्क साउन, २०६७)
पछ्याइरहेको छु छायाँलाई
बढेको छ दूरी नजरको
छायाँसँग मेरो
आत्मीयताको आदिम
प्रेमबस्ती बसालेको छु
छायाँविहीन छायाँको
निर्माणाधीन महलमा
मायाको आकृति कोरेको छु ।
एकहोरो प्रेम गर्छु
घाम लागेको होस् वा
अँध्यारोमा देखिएको धब्बारुपी छाँया
दुवै समय मेरो निसानामा छन्
तीर कहिले उज्यालोमा पर्छ
कहिले निष्पट्ट अँध्यारोमा ।
छायाँ प्रवेशले
तातो हराएको छ
उज्यालाहरू बिलाउँदै गएका छन्
छायाँलाई मुसार्दै जाँदा
तुषारोको हल्का राप बढेको छ
छायाँको भीडमा
म एक्लो यात्री
आफू हिँडेका/नहिँडेका
बाटाहरूमा
अलिकति लडेर
अलिकति ठोक्किएर
केही झोक्किएर
छायाँ नजिक पुग्छु
बेतुकको छ मेरो मायाको छायाँ
शून्यबाट सुरू हुन्छ
शून्यमै बिलाउँछ
तर छायाँको अघिल्तिर
म नतमस्तक छु
तुषारो बेपर्वाह लाग्छ
उज्यालो पनि बेतुक लाग्छ ।
चौलाखर्क -३, सोलु