नरेन्द्रराज पौडेल – पुराना ती रङ्गमाच उठाउँदै म आएँ (गजल)
पुराना ती रङ्गमाच उठाउँदै म आएँ
नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।
यौवनको भेलबाढी गयो बेसै भयो
पीरतीको पहरामा रसाउँदै म आएँ ।
वैली जाने रहरहरु उखेलेर फाल्दै
वैशाखको पालुवामा पलाउँदै म आएँ ।
शून्यताको लेक बेसी धाउनु धाएपछि
मनैभरि जाई-जुही फुलाउँदै म आएँ ।
तिमीसँग यात्रा गर्ने नौलो धोको बोकी
जिन्दगीको नयाँ गाडी गुडाउँदै म आएँ ।