हेमन्त परदेशी – बिचरा काकाकुलहरु
अनाबृष्टि र खन्डबृष्टिले ,
पटक पटक उजाडिएको मेरो मनको बस्ती ।
यो साल पनि रत्तिभर ओसिलो बनेन ,
अर्थात, त्याग र समर्पणको चर्को खडेरीमा ,
बिश्वासको पालुवा फेर्न सकेन मेरो मनको बस्तीले ।
संझन्छु म , मेरी हजुर आमालाई –
“गर्जने मेघ कहिल्यै बर्सदैन ।”
अनि नियाल्छु आफ्नै खुल्ला आकाशलाई ।
कठैबरा!ती बिचरा काकाकुलहरु ,
आफैलाई दृष्टिभ्रम भए झैँ लाग्छ ।
“ग्लोबल वार्मिङ्”को चिन्ता बोकेर ,
कल्पनाको कालापत्थर हुइंकिन्छु ,
आहा ! कति शितल?
जताततै बर्षै बर्षा अनि हरा भरा वाताबरण,
अब्यक्त खुशीले पुलकित बन्छु म ।
तर जब यथार्थताको धरातलमा ओर्लन्छु ,
फेरि पनि दृष्टिभ्रम भए झैँ लाग्छ ।
अर्थात , देख्छु त्यही उजाडिएको मनको बस्ती ,
अनि बस्ती माथीको खुल्ला आकाशमा तृसित मन लिएर –
निरन्तर कावा खाइरहेका तिनै बिचरा काकाकुलहरु ।