हेमन्त परदेशी – म अक्षर होइन
बिष=बिख ।
अर्थात “ष” ले “ख” र “य” ले “जे” उच्चारित हुनुपर्ने ,
अथवा, निराकार ब्रम्हा , बिष्णु र महेश्वरलाई समेत –
जबर्जस्ति “ॐ” को एउटै शब्द भित्र अटाउन बाध्य हुनुपर्ने ,
नियतिको शीकार ।
अर्थात , कसैको मनोखुशी उच्चारित हुने अक्षर होइन म ।
त्यसैले मेरो अस्तित्व माथि धावा बोल्न सक्दैन कसैले ,
न त मेरो बहावहरुमा बाँध बन्न नै सक्छ कोहि ।
अर्थात बग्नु मेरो स्वकीय धर्म हो ,
र निरन्तर बगिरहेकोछु यसरी नै ।
कहिले खहरे बनेर उर्लिन्छु ,
त कहिले फेवाको शान्त छाल बन्छु ।
अनि कहिले सुनामी बनेर फैलिन्छु ,
त कहिले आफैले आफैलाई शमन गर्छु ।
किन कि स्वकीयताको अधिपति ,
अर्थात , कसैको मनोकांक्षामा सजिलै लेखिने र मेटिने अक्षर होइन म ।
हो , समयको बहाव संगै यूग बद्लिँदो छ,
अनि बद्लिँदो यूग संगै समय ढल्दो छ ।
र यही परिवर्तित यूग सामु उभिएर म भन्दैछु –
मान्छे भन्दा श्रेष्ठ अरु कोहि हुन सक्दैन ,
अर्थात सृष्टि सापेक्ष यूगद्रष्टा मान्छे नै हो ।
मान्छे ! द्वन्दात्मक भौतिकबादको ब्याख्या गर्छ ,
मान्छे ! चरम बैज्ञानिक समाजबाद र साम्यबादको खाका कोर्छ ।
अनि मान्छे ! उच्चतम प्रबिधिको बिकाश संगै ,
धर्तिमा मात्रै नभएर-
चन्द्रमा र मङ्गल ग्रहमा समेत आफ्नो नयाँ संसार निर्माण गर्छ ।
नयाँ संसार !
आहा कति सुन्दर ?
मेरो परिकल्पनाको स्वप्निल संसार ।
र त ,
भुइँमा उज्यालो खसे देखि,
साँझमा बस्ती नसुते सम्म ,
निरन्तर गाइरहेको हुन्छु म नयाँ संसारकै गीत ।
नयाँ संसारको गीत !
अनायसै पुरानो हुन्छ मेरा लागि ,
अर्थात बासी समाचार-पत्र जस्तै बेअर्थको बन्छ मेरो गीत ।
कति गाउँनु अब?
कति सुनाउँनु अब?
धोबि चरीको गीत जस्तै ,
अर्थात बेमौसमी सारेगमपधनिसा ।
फेरि नयाँपनको खोजिमा –
भास्कोडिगामा र कोलम्बस बन्छु म ।
खोज्छु नयाँ संसार , नयाँ सोच र नयाँ बिचार ।
तर उहि पुरानै दृस्यहरु दृष्टिगोचर हुन्छन् मेरा आँखामा ।
अर्थात ष=ख र य=जे ।
बिभ्रमण र बिपर्यताले मितेरी लगाउँन खोज्छ ,
आफैले आफैलाई संहाल्छु म ।
अनि अक्षरहरुको नियतिबाट मोक्ष प्राप्त गर्न ,
सिङ्गो ब्रम्हान्ड भरि बितन्तु-सन्देश फैलाउँछु-
कसैको मनोखुशी उच्चारित हुने अक्षर होइन म ,
न त कसैको मनोकांक्षामा सजिलै लेखिने र मेटिने अक्षर नै हो म ।
अर्थात, मानव अस्तित्वको अनुप्राणितामा ,
सिङ्गो ब्रम्हाण्ड चाहारिरहेको मान्छे हुँ म , एउटा मान्छे ।