Shyamal – Dasani Ko Lehanga

श्यामल – दसनीको लेहङ्गा

तातो हावाको झाँकाले
फरफराउँछ
पराजित मुलुकको झन्डाजस्तो
दसनीको लेहङ्गा ।

धेरै चोट सहिसक्यो
धेरै रगत बगाइसक्यो
धेरै बलात्कार खपिसक्यो
जमिन्दारको बाँझो खेतमा
धेरै कुलो लगाइसक्यो
घामपानीको मारले
जति मधुरो देखिए पनि
अझै रङ्गीन छ
हजारौँ फूल फुल्ने उद्यानजस्तो
दसनीको लेहङ्गा ।

दाउरा लिन गएको
जङ्गलबाट फर्केन
कसैलाई थाहा छ कि
कहाँ फरफराइरहेछ बुट्टेदार
दसनीको लेहङ्गा ।