मैले भिरपाखा र भन्ज्याँङहरुलाई सोधें
कतै “भबिस्य” लाई देख्यौ कि?
भक्कानो छोडेर रुदै उनिहरुले भने
बम र बारुद बनेर आकाशमा उड्दै होला|
मैले मखमलि फुल लाई सोधें
उसले रिसाएर भन्यो
म आफ्नै समस्याले लाचार छु
कैयौ तिहारहरुमा कुहेर झरेको छु।
मैले खोलाहरुलाई सोधें
उनिहरुले अबरुद्ध आबाजमा भने
मेरो छाती माथि रगर भएर बग्यो होला|
मैले चौतारीलाई सोधें
उसले थकित मुद्रामा भन्यो
छाँया ताप्न आएनन कोही पनि
फगत एक्लै, टुहुरो झै लोलाएर बसेको छु।
मैले माटोलाइ सोधें
माटो आजित थियो र उस्ले भन्यो
“भबिस्य” लास बनेर गलि सक्यो होला|
मैले कानहरुलाई सोधें
उनिहरुले सुन्न छोडेछन|
मैले आँखाहरु लाइ सोधें
उनिहरु देख्न छोडेछन|
मैले मुखहरुलाई सोधें
उनिहरु बोल्न छोडेछन|
अन्तिममा मैले मान्छेहरुलाई सोधें
उनिहरु निशब्द थिए किनकी
उनिहरु सिकिस्त बिरामी परेछन
दिमागि सन्तुलन बिग्रिएछ, होस गुमाएर
“भबिस्य” र बर्तमान छुट्ट्याउन नसक्ने भएछन|
त्यस पछी मैले”भबिस्य” लाई खोज्न छोडि दिएँ
किनकी “भबिस्य” नभेटिने गरी हराएको रहेछ।