Basu Shrestha – Prawasi Man

बासु श्रेष्ठ – प्रवासी मन
(उडब्रिज, भर्जिनिया)

ओक्लाहोमाको बमकाण्ड होस् या
रोल्पाको नरसँहार काण्ड
कोलम्बाईनको गोलीकाण्ड होस् या
राजदरबारको रक्तकाण्ड
सेप्टेम्बर ११ को विनासकारी अपराध होस् या
दोरम्बाको नरसँहार होस्
अथवा
चाहे त्यो मादिको अर्थहिन बस बमकाण्ड होस् या
टेक्ससको अर्थहिन हत्याकाण्ड
म विचलित भएकै हुन्छु
रोएकै हुन्छु
म अत्तालिएकै हुन्छु ।
मातृभूमि छोडेर
पराया देशलाई
कर्मभूमि बनाएको छुँ मैले
अनि
आफुलाई केहि गरेसरी
मातृभूमिकोलागी पनि
यस कर्मभूमिबाट
केहि गरौ भन्ने उत्कट चाहना पालेकै छुँ ।
त्यसैले त
मातृभूमिमा होस या कर्मभूमिमा
कहिँ, कतै, कसैलाई, केहि नहोस् भन्ने चाहना
केहि भईहाल्यो भने मन त रोईहाल्छ
विचलित भई हाल्छ
तथापी
दुबै भूमिमा शान्तिको कामना गर्दै
यस कर्मभूमिको हरेक पलपलमा
कर्म निर्वाह गरिरहेको छुँ ।
प्रवासी यो मन
कर्मभूमिमा भएपनि
पलपल मन मस्तिष्क मातृभूमिमा
तन यता, मन उता
त्यसैले त
कर्मभूमिको बिहानीमा मातृभूमिको समाचार खोज्छु
अनि कर्मभूमिको सिरानीमा मातृभूमिकै सपना देख्छु ।
उता कोहि मरेपनि यता कोहि मरेपनि
लाग्छ आफन्त नै परे
दुर्दशा उहि हो देखिनसक्नु, सहिनसक्नु
दुवैभूमिप्रति उत्तिकै वेदना र खुशी
अनि उन्नती, प्रगतीको चाहना
अपार र अटुट
यो प्रवासी मनको ।
सीमा छैन देशको, भावना र प्रेमको
मानवता र भ्रातृत्वको
न रँगको न आकारको
न भूगोलको न लिँगको
किनभने
म रँग विहिन हुँ निर्भूगोल हुँ
र त म प्रवासी मन बोकेको नेपाली हुँ ।