नारायण श्रेष्ठ – एक्जीट २०-१०
निष्कलंक मन लिएर यो चौबाटोमा उभिएँ भने
बाटोहरुले नै मलाई छोप्ने छन्
माया मानेर छिमेकीको आँगन टेकें भने
आफन्तहरुले नै छिर्के हानिदिने छन्
तीर्खा लागेर सियाल ताप्न
या धपेडिमा सुस्ताउन गति कम गरें भने
आफ्नै साथीभाई जाईलाग्ने छन् |
मूलबाटोमा मलाई छेकबार लगाएका छन्
कुलमा पानी नचल्ने बनाएका छन्
र टोलमा एक्लो पारेका छन्
नयाँ छिमलको लहर खोज्दै
पँधेरो मुनिको गल्ली छलेर यो एक्जीट लिन खोज्दा
मेरा आँखाहरु तिरमिराएका छन्
खुट्टाहरु लगपकाएका छन्
साह्रै कठीन भयो आजको दिन
बसुं – बासमा सर्प छिरेको छ
बाटो लागुं – अंधकारमा भूमरि परेको छ
यि चाक्ला परेका सडकहरुमा उभिएका मेपलका पातहरुले
मेरो भाकालाई सुसेल्दैनन्
असी माईलको गतिमा कुदेका आधुनिक लेक्ससहरुले
धिमा घर्सने मेरो पाईलालाई बाँध्न सक्दैनन्
सबै सबै छन् यहाँ र पनि कोही छैन
कोही पनि छैन यहाँ – मात्रै कुदिरहेका छन्
हावामा हुरी बहेर आउँछ,
जाडोमा हिउँ वर्षिएर झर्छ
बिपरित बाटोको लेनमा
यसरी बाहिरिएको छ – एउटा यात्री !