Mina Bantawa ‘Mridu’ – Ma Almaliyeko Manis

मिना बान्तवा “मृदु” – म अल्मलिएको मानिस

म अल्मलिएको मानिस
सधैं भरि चारकोसे
जंगल झाडीको बिचमा
अल्मलिएको म मानव
अन्योलको मोहने निशाले
आज त्यहीं
घनघोर झाडीमा घुमिरहेछु
कतिको त यहाँ रात परेर पनि
जीवन लिला नै समाप्त भयो अरे
मेरो पनि सायद
त्यस्तै त होला नि
मैले दिशा ठम्याउन
कहिले सकिन अनि
म अझैं निशामा छु,
मलाई निशा लागिरहेको छ

पूर्व पश्चिम छुट्याउँन
अझै सकेकी छैन
म अन्योलको जीवन बिताई रहेछु,
एकदम अन्योलको जीवन
कुहिरी मण्डलले मेरा आँखाहरू
ढप्पई छोपेका छन
पश्चिममा डुब्दै गरेको घाम
पूर्वतिर डुबेझैं लाग्छ
दिन हो कि रात हो
ठम्याउन सक्दिन
मलाई थाहा छ
घाम पूर्वबाट झुल्किन्छ
र पनि म काँतर बेहोसी
निशाको मातमा डुबिरहेछु

साच्चैं मोहनी निशाको
खैंजडीमा परेको छु
मेरो मानव बस्ने मानवीय
बसोवास खोज्दै हिंडिरहेछु
कुनै मानव हिडेको पाइलाहरू
पता लगाउँन खोज्छु
कुनै सिधा मानवीय गोरेटो
पता लगाउनु खोज्दैछु
म आधी बीच जंगलमा
आल्मलिएको छु
अनि फेरी घुम्दै फिर्दै,
घुम्दै फिर्दै
फेरि त्यहीं ऐजन-ऐजन
ठाउँमा नै आई पुग्छु

सहारा थाकेर बिसाएको
रुखको बोट निर आई पुग्छु
म मानव प्राण हुँ
त्यसैले पिउने पानि खोज्छु
यत्र-तत्र पानी अमलाको बुट्टा
माटोमा खोतल्छु
म हारेको भोको मानव हुँ
त्यसकारण
अघाउन पर्छ,
बाँच्नको लागि
स्वास बचाउनु पर्छ
बाँच्न र भोक मेटाउन
कन्दमूल खोज्दैछु
भोर्लेनिको बुट्टा र भकिम्ला
किम्बुहरु नियाल्छु

मलाई पुग्नुको पनि
अत्यन्तै जरुरी छ
किनकी आफ्नै मानव बस्ती खोज्दै
हिडेको मानव
मलाई हम्मे हम्मे परिरहेछ
मानवीय बस्ती खोज्न
कहिले भिरको टाकुरामा
बिसाउन पुग्छु
कहिले दुम्सीको
पुरानो खार खाने गुफामा
कहिले डर लाग्दा सिंह
बाघको गुफामा पुग्छु
कहिले बेलाखा राजारानीको
भष्मस्थित दरवारमा

त कहिले भताभुंगे
राजाको भग्नावशेष
पुरानो स्थित लथालिंगे
दरवारमा पुग्छु
म अझैं मानवीय मेरो बस्ती
खोज्दै हिंडिरहेको छु
आज त्यहीं
घनघोर झाडीमा घुमिरहेछु
म मोहने निशामा छु!
म अन्योलको निशामा छु!!
म अन्योलको निशामा छु!!!