बिप्लव प्रतिक – जिन्दगी: प्रत्यक्ष र अप्रत्यक्षमा
जिन्दगीको बोझ उठाइरहेछु
निफनिरहेछु, केलाइरहेछु
यस क्रममा म जिउनुको परिभाषा खोजिरहेछु ।
जिन्दगीबारे मान्छेका विचार
यतिखेर बिस्कुनसरि मेराअघि छरिएका छन्
जिउनुबारे मान्छेका परिभाषा
यतिखेर मेराअघि ओहोरदोहोर गरिरहेछन् ।
हरविचार सत्यजस्ता छन्
हरपरिभाषा चित्तबुझदा छन् ।
म एउटा मान्छेको, अर्को मान्छेको, प्रत्येक मान्छेको
विचार छामी हेर्छु
म हरेक मान्छेको जिउने परिभाषा पढ्छु
तर, विचारको झुसिलकीरा मेरो शरीरभरि काँडा उमार्दै
घिनलाग्दोसँग हिँडिदिन्छ
परिभाषाको गँड्यौला मेरो मस्तिष्कभरि पीडा गोड्दै
रगतपछ्य पारेर सल्बलाइदिन्छ
कुनै एउटा विचार वा कुनै परिभाषामा
आफूलाई केन्द्रित गर्ने चाह
अनि त्यसै हराउँदै जान्छ, बिलाउँदै जान्छ ।
क्रम तर टुट्तैन, सायद टुट्नु नै जोडिनु भएर हो कि ?
खोजी तर छुट्दैन, सायद छुट्नु नै भेट्नु भएर हो कि ?
र यस क्रममा म अझै जिउनुकै परिभाषा खोजिरहेछु ।
एकातिर स्वाभिमान छ, अर्कोतिर पराभिमान छ
एकातिर मोहभङ्ग छ, अर्कोतिर जिजीविषा छ
एकातिर तृप्ति छ, अर्कोतिर तृष्णा छ
आशा-निराशा, सुख-दुःख, अँध्यारो-उज्यालो
मिश्रति छ, सम्मिश्रति छ, हरचीज गुजमुज्ज
र प्रत्येक व्यक्ति आफैँमा रमाएको छ, आफ्नै कर्तुतमा ।
आह ! कति सङ्कुचित छ सोचाइ, कति साँगुरो छ भोगाइ
कति लामो छ मृत्यु र कति छोटो छ जीवन ।
सायद खोज्नु नै हराउनु हो, भेट्नु नै छुट्नु हो
र सायद संसारका प्रत्येक हूलमा मान्छेहरू
केही खोजिरहेछन्
केही पाइरहेछन्
र सोच्तछु, म के खोजिरहेछु ? किन खोजिरहेछु ?
सायद जिन्दगीको परिभाषा खोजिरहेछु
सायद खोजिरहेको छैन ।
पुल्चोक, २० मे १९८९