Biplav Pratik – Sthiti Chitra

बिप्लव प्रतिक – स्थितिचित्र

प्रचण्ड गर्मी, तातो ! तातो ! तातो !
मान्छेहरू बोसोदेखि गिदीसम्म पग्लिँदै गइरहेछन्
तरल ! तरल ! तरल !
शहर बाफिएको छ
उसिँनिदैछन् घरहरू
छटपट ! छटपट ! शहर छटपट !
मान्छेहरू अब आश निभाएर त्यसको खरानी तापिरहेछन्
जिन्दगी बोझलि, उराठ, लखतरान हिँडिरहेछ
लख्रक ! लख्रक ! लख्रक !

साँच्चै भनेको, म देखिरहेछु
मान्छेहरू माया मारेर कुन्नि के बाँचिरहेछन् ।

हिजो बेसकन पानी पर्यो
शहर स्तम्भित, मान्छे स्तम्भित
एकछिन अचम्म मानेर सबै मान्छेहरू हषिर्त भए
र मान्छेहरूले अब सम्झनाको खरानी
वर्षाको पानीसँगै बगाइदिए
उनीहरूसँग गर्नुपर्ने आश पनि छैन
सम्झिनुपर्ने कुरा पनि छैन
माया मार्ने कि गर्ने बिर्सिए मान्छेहरूले
उनीहरूसँग मार्नुपर्ने कारण पनि छैन
माया गर्नुपर्ने उद्देश्य पनि छैन ।

मान्छे आफ्नै स्वभावको बन्दी हो
ऊ आफूलाई जति स्वतन्त्र ठान्दछ
र आफ्नै निर्णयमा चल्ने ठान्दछ
त्यहीँनेर ऊ आफ्नै स्वभावको बन्धनमा पर्दछ ।

सुखमा उन्मत्त बन्छ
दुःखमा अत्तालिँदै लत्ता छाड्न खोज्छ
र, विगतका दुःखद अनुभूतिहरू
कहिलेकाहीँ मात्रै छ्वास्स सम्झिन
हृदयको बगलीमा राख्तछ ।

किन खोजीमा छैन मानिस नयाँ मार्गको ?
प्रत्येक कुरामा मुक्तिको ?

नयाँसडक, ७ डिसेम्बर १९८७