Biplav Pratik – Upaya Ko Khoji Ma

बिप्लव प्रतिक – उपायको खोजीमा

निरुपाय
सुर्यझैँ, जसको अरू उपाय छैन
मानिसका लागि बिहान बिउँझिदनु र सुतिदिनु रातमा
बिलकुल सुर्यजस्तै म पनि बिउँझदै, सुत्दै
उदाउँदै, अस्ताउँदै
एउटा नियममा बाँधिएको छु
अनि उद्देश्य ढाँटेर बाँच्नु
साह्रै कष्टदायक छ मलाई ।
त्यसैले विरोध बोलिरहेछु, नयाँको खोजीमा ।

केही अवश्यै हराएको छ
चोट निरन्तर परिरहेछ
घाउ हराएको छ सायद
आर्तनादलाई मेरो
कहिले समाजले, कहिले जुलुसले
कहिले सामयिक घटनाले
विवेचना गर्न नसकेर
अल्मल्याइदिएको छ ।

यस्तो अवस्थामा जो कोही पनि
निरुपाय छट्पटिन सक्छ, कहालिन सक्छ
तर, मथ्न पनि सक्छ
आफ्नो शेष ऊर्जालाई मस्तिष्कभरि ।
आज त्यही सम्झेर
म मथिरहेछु मस्तिष्क
यातना बिर्सेर, पीडा बिर्सेर
टुङ्गोको तस्बिर हातमा च्यापेर
एउटा परिवर्तित मार्ग रोजेर
अनुहारभरि इन्द्रेनी बुनेर, उनेर, पोतेर ।

– नयाँसडक, ७ मे १९८७