Biplav Pratik – Aparajit

बिप्लव प्रतिक – अपराजित

हारपछि हात बाँधिनु मात्रै हुँदैन
उदास रहेर अडेस लाग्नु मात्रै हुँदैन
प्रत्येक हार नै जितको अर्को नाम हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

सूर्योदय हुनु छ र अँध्यारो मेटिनु
अँध्यारो त आफैँ फुट्ने खेलौनाझैँ हो
र सुर्यास्त, सूर्योदय हुने केवल बहाना हो ।

हात बाँधिनु मात्रै हुँदैन, अडेस लाग्नु मात्रै हुँदैन
माग्नु हुँदैन पानी, नत्र प्यासको बानी बस्छ
तिर्खाउन मन लागिरहन्छ, हमेसा पानी तर्कना खेल्छ ।

आगोले पोल्छ, फोका उठ्छ पाइतालाभरि
आगोमै ती फोकालाई फोड्दै
तिनै फोकाभित्रका पानीले निभाउँदै जानुपर्छ आगो
र तयार बस्नुपर्छ फेरि नयाँ तीखा काँडा टेक्न
रगताम्य पारेर काँडाहरूलाई
विवश पार्नुपर्छ प्रकृतिलाई त्यही काँडामा गुलाफ उमार्न ।

माग्नु हुँदैन पानी, नत्र प्यासको बानी बस्छ
तिर्खाउन मन लागिरहन्छ, हमेसा पानी तर्कना खेल्छ
हात बाँधिनु मात्रै हुँदैन, अडेस लाग्नु मात्रै हुँदैन
सूर्यास्त, सूर्योदय हुने एउटा बहाना मात्रै हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

नयाँसडक, १२ डिसेम्बर १९८६