बिप्लव प्रतिक – विरोध
तिमी बारम्बार
हाँस भन्छौ मलाई
तर, यता म आफू हाँस्नुको कुनै महत्व देख्तिनँ ।
म आफू आफैँलाई पोलिरहेछु
आफ्नै नङ्ग्राहरू चिथोर्दैछन् आफ्नो छातीलाई
कति बीभत्स हुन्छन् हगि रगताम्य दृश्यहरू !
फेरि पनि तिमी हाँस भन्छौ मलाई
तर, यता म
आफू हाँस्नुमा कुनै औचित्य नै भेट्दिनँ ।
झुक्किएर एकछिनका लागि मात्रै म हाँस्दा पनि
हजार आँसुका थोपाले पिरोल्छन् मलाई ।
के म एउटै कुरा हरेकपल्ट दोहोर्याइरहूँ
के म प्रत्येकपल्ट यही भनिरहूँ –
हाँसोले मलाई रोक्छ चाल्न नयाँ कदम
पीरले धाप मार्छ चाल्न नयाँ कदम ।
एकैछिन सुस्ताउन जब हुँदैन न्यानो मायालु काख
थाकेर सुस्ताउँदा जब सुम्सुम्याउँदैन कसैले
मै त हुन्छु, अरू को हुन्छ –
मै त हुन्छु, जुर्मुराउँदै उठ्छु र म्वाइँ खान्छु
आफ्नै अनुहार ऐनामा ।
कति सजिलो हुन्छ आफूले आफैँलाई माया गर्नु
कति गाह्रो हुन्छ अरू कसैको मन जितेर
मलाई माया गर, मलाई माया गर भन्नु ।
फेरि पनि तिमी हाँस भन्छौ मलाई
तर, यता म आफू हाँस्नुमा कुनै आनन्द पाउँदिन ।
कि म बहुलाइरहूँ ?
टल्केको बालुवालाई पानी सम्झिँदै दौडिरहूँ ?
रोइरहूँ नराम्रोसँग र बटुको थापिरहूँ सहानुभूतिको ?
जसोतसो कि नभेटूँ टुक्राटुक्रा लक्ष्यहरूलाई
र बसिरहूँ हात बाँधेर एकान्त मैदान, पहाड र हिमालहरूमा ?
अहँ, म त घिस्रि्रदैघिस्रि्रदै
लामोलामो सास फेरेर अघि बढिरहन्छु
बढ्न देऊ मैदानमा
धूलैफुस्रै, रगतपच्छे लडिरहन्छु, लड्न देऊ रणक्षेत्रमा
म आफू हाँस्नुमा कुनै महत्व देख्दिनँ
म आफू हाँस्नुमा कुनै औचित्य भेट्दिनँ
आफू हाँस्नुमा म कुनै आनन्द नै पाउँदिनँ
…फेरि पनि तिमी हाँस भन्छौ मलाई ।
नयाँसडक, ३० नोभेम्बर १९८६