बिप्लव प्रतिक – पुनरागमन प्रकाशको
म क्षितिजतिर टोलाइरहेछु
अनन्त शून्यतिर अटुट नियालिरहेछु
युद्ध सहन नसकेर मैदानबाट भागेका मान्छेहरूबारे
यतिखेर म सोच्तैछु ।
यतिखेर बेल खस्दा तर्सेर भाग्ने खरायो सम्झिरहेछु,
जङ्गल सम्झिरहेछु, सृष्टि सम्झिरहेछु
अनि विनाश सम्झिरहेछु ।
यतिखेर म कर्तव्य सम्झिरहेछु, अधिकार सम्झिरहेछु
मार्गदर्शनहरू केलाईकेलाई हेर्दैछु
मान्छेको अधिकारभित्र प्रकाश छ
म प्रकाश सोचिरहेछु
तर, कति टाढासम्म फैलिएको छ उज्यालो ?
र यहाँ, यतिखेर कतै निभ्न त निभेनन् ?
म अधिकार सम्झिरहेछु
अनि कर्तव्य सम्झिरहेछु ।
अनि, कति मान्छेहरू अधिकार र कर्तव्यका कुरा
सहीसही सोचिरहेछन्, यो पनि सोचिरहेछु ।
आँखा पीरा, निस्तेज अनुहार
कलेटी परेका ओठ र छियाछिया पाइताला
तैपनि कति मान्छेले यात्रा बिसाएका छैनन्
ती सबको परिचय खोज्दैछु ।
यतिखेर पनि म क्षितिजतिरै टोलाइरहेछु
युद्ध सहन नसकेर भागेकाहरू
कर्तव्यबोधले फेरि फर्किरहेका सुनौला सपना
निकै चाख मानेर विश्वासका साथ आँखाले देखिरहेछ ।
थाहा छ मलाई
अन्तरविश्वास कहिल्यै पनि झूटा साबित हुँदैन
म यही सोचिरहेछु क्षितिजतिर नियालेर ।र्
कर्तव्यबोधले फर्किरहेका पाइलाहरूका पदचाप
निकै चाख मानेर विश्वासका साथ कानले पर्खिरहेछ ।
नयाँसडक, ६ अगस्ट १९८६