बिप्लव प्रतिक – स्वदेशको माया
मन नलागीनलागी
कसैको पनि बनोट वा बुद्धिको तारिफ गर्नु
वा कसैलाई राम्रो भन्नु
चाकरीको सङ्केत हो
त्यसैले पनि स्वदेश
तिमीलाई माया गगर्छु भनी अहिले भन्नुपरे
म आफूलाई चापलुस भएको अनुभव गर्दछु ।
एउटा औपचारिकता हो, माया गर्छु भन्नु तिमीलाई
र त्यो औपचारिकताको औचित्य किन र केका लागि ?
यो होडबाजीको युगमा
म जब दौडिरहनु परिरहेछ आवश्यकताहरू भेट्न
यी अँध्यारा गल्लीहरूमा
म जब बिउँझरिहनु परिरहेछ आँखाहरू खोल्न
यो दायरा र परिधिको संसारबाहेक अरू त सोच्नै सक्दिनँ म,
अहिले त म सोच्दैछु
केवल आवश्यकताहरू भेट्न
आँखाहरू खोल्न र परिवर्तन गर्न ।
तर, जबजब म टाढा हुन्छु स्वदेशबाट
जबजब म हेलिएको हुन्छु लाहुरतिर
मेरो देशप्रेम
लालीगुराँस भएर रातै फक्रेको हुन्छ
मलाई स्वदेशको मायाले आधा जीउ पारेको हुन्छ ।
नयाँसडक, १६ मे १९८६