बिप्लव प्रतिक – तिमी र ममध्ये एक जना भ्रममा बाँचिरहेछ
मान्छे भन्छन्, म उन्मुक्त कहिल्यै हाँसिन रे
मान्छे भन्छन्, म सुखी कहिल्यै बाँचिन रे
सुख, मलाई त लाग्छ एउटा भ्रम हो
हाँसो, मलाई त लाग्छ एउटा थप भ्रम हो
के तिमीहरू सब भ्रममा बाँचेका छैनौ ?
दुःखलाई बाँड्छौ अनि दङ्ग पर्छौ
समस्यालाई साट्छौ अनि हाँस्छौ
के तिमीहरूले कहिल्यै समुद्रको गहिराइ नापेका छौ ?
तिमीहरूलाई थाहा छ समुद्र गहिरो हुन्छ
त्यसैले डुब्ने डरले तिमीहरू भीडसँग सम्झौता गरिरहेछौ
पीडासँग आसपास खेल्दै आजु समात्ने कोसिस गरिरहेछौ
र, यता म आफ्ना साथीहरूसँग
डुमले भेट्टाउने ठाउँमा नै उभिरहेछु
उसले कुनै पनि बेला, कुनै पनि क्षण मलाई समात्न सक्नेछ ।
डुमको अर्को नाम दुःख हो, पीडा हो
अनि म आफू, ती सबसँग जुध्न सक्ने क्षमता हो ।
दुःख विचारको हुन सक्छ, दुःख मायाको हुन्छ
अनि दुःख बाँच्नुको पनि हुन्छ
म त चट्याङ परोस् भन्छु ममाथि
म हाँसिरहेको बेला
अनि सोच्न सकूँ म
के मेरा सम्पूर्ण लक्ष्यहरू भेटिइसके ?
म त प्रहार परोस् भन्छु ममाथि
म बाँचिरहेको बेला
अनि सोच्न सकूँ म
के मैले गर्नुपर्ने सम्पूर्ण कार्य सिद्धिइसके ?
प्रत्येक प्रश्न बाँच्नुका, के सुल्झिसके ?
प्रत्येक समस्या मान्छेका, के समाधान भए ?
सुखमा म त नयाँ कोल्टे फेर्नै सक्तिन
हाँसोमा म त नयाँ गोरेटो खोज्नै जान्दिनँ
सुख, मलाई त लाग्छ एउटा भ्रम हो
हाँसो, मलाई त लाग्छ एउटा थप भ्रम हो ।
नयाँसडक, ७ डिसेम्बर १९८५