Biplav Pratik – Sthiti

बिप्लव प्रतिक – स्थिति

म हाँस्न सक्छु, म रुन सक्छु
घृणा गर्न सक्छु
माया पनि गर्न सक्छु
जीवनको गीत
गाउन सक्छु, नगाउन पनि सक्छु ।

साथीहरू भेट्न सक्छु
बैरीहरू भेट्न सक्छु
भेटेको चीज नभेट्न सक्छु
नभेटेको चीज खोज्न सक्छु
खुसी हुन सक्छु, रिसाउन पनि सक्छु
चाहेँ भने बाँड्न सक्छु
फेरि केही खोस्न पनि सक्छु
म सुर्य निल्न सक्छु
म जून र्झार्न सक्छु
तर, म कमजोर पनि छु
दम्भले म मात्तिन सक्छु
हीनताबोधले आत्तिन सक्छु
म के हुँ सोच्न सक्छु
आफैँलाई बिर्सिन पनि सक्छु
स्वतन्त्र हुन सक्छु
तर, पराधीन पनि हुन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, थाहा पाउन सक्छु
शक्ति यति प्रशस्त छ मसँग, चाल नपाउन सक्छु

तर, कतै पनि ढल्किँदा
पहिरो जान सक्ने सम्भावनाचाहिँ
किन यथावत् रहिरहेछ ?
कुनै एउटा सिरान समात्दा
अर्को पुछार छुट्ने श्रापचाहिँ
किन यथावत्, शाश्वत रहिरहेछ ?
यही सोचिरहेछु,

…नसोचिरहेको पनि हुन सक्छु ।

घट्टेकुलो, ९ अप्रिल १९९१